धमाका संवाददाता
दैलेख फागुन २९
जिल्लामा बाल विवाह धेरै भएको भन्दै बाल विवाह न्यूनिकरणमा सरोकारवालाहरुको भूमिका स्पष्ट पार्ने उद्देश्यले सदरमुकाम दैलेख बजारको टुँडीखेलमा बालिका सम्मेलन गरिएको छ ।
यूवा पुस्ताहरुमा देखिएका विभिन्न समस्या मध्ये बाल विवाहले समाजमा पारेको नकारात्मक असर र त्यसको समाधानका लागि महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, महिला तथा
बालबालिका कार्यालय दैलेखको आयोजनामा अन्तर पुस्ता संवाद कार्यक्रम सम्पन्न भएको हो ।
जिल्लामा महिला तथा बालबालिकाहरुको क्षेत्रमा लाखौं रकम बर्षेनी खर्च हुने भएपनि त्यसको ठोस उपलब्धि हाँसिल हुन नसकेको भन्दै आगामी दिनहरुमा बालबालिकाहरुका लागि विनियोजन गरिएका रकमहरु उनीहरुकै सशक्तिकरणमा खर्च गरिनुपर्ने माग बालबालिकाहरुले गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गंगाराम गिरी, प्रहरी प्रमुख बीरबहादुर वली, जिल्ला विकास समिति, नारायण नगरपालिका, जिल्ला शिक्षा कार्यालय र अन्य बिषयगत कार्यालयहरुसँग जिल्लाका विभिन्न बाल क्लवमा रहेका बाल बालिकाहरुले जिज्ञासा राखेका छन् ।
आगामी चैत्र १० गते काठमाण्डौंमा हुने केन्द्रिय सम्मेलनमा दैलेखबाट चार जना वालिका सहभागित गराउने उद्देश्यका साथ जिल्लामा पनि सम्मेलनको आयोजना गरिएको हो ।
भोर धुनषाको सहजिकरणमा गरिएको अन्तरपुस्ता संवादको सहजिकरण नेपाल टेलिभिजनकी समाचार बाचीका अन्जना सिल्पकारले गरेकी छन् ।









